थप २ सय ९९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

admin

काठमाडौँ, मंसिर २ : आज देशभरमा गरी थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार १५१ को परीक्षण गरिएको थियो ।

आज २६० जना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार १७६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय सङ्क्रमित सात हजार ६४२ रहेका छन् । नेपालमा सङ्क्रमणदर १८ प्रतिशत रहेको छ ।

नेपालमा ५०० भन्दाबढी सङ्क्रमित जिल्ला काठमाडौँ र ललितपुर रहेको मन्त्रालयले जनाएको छ । दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।

अहिले होम आइसोलेसनमा सात हजार १६९, संस्थागत आइसोलेसनमा ४७३, सघन उपचार कक्षमा २२४ र भेन्टिलेटरमा ६० जनाले उपचार गराइरहेका छन् । आज ७१ हजार ८९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हालसम्म पहिलो मात्रा ८९ लाख ९६ हजार २५३ जनाले र दोस्रो मात्रा ७७ लाख १३ हजार ४०९ जनाले लगाएका छन् ।

मन्त्रालयका अनुसार आज पाँच जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । यी जिल्लामा ओखलढुङ्गा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोट रहेका छन् । पछिल्लो २४ घण्टामा थप छ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८९ पुगेको छ ।

प्रतिक्रिया