अब प्रत्येक नागरिकको हातबाट डिजिटल भुक्तानी हुन्छ: गभर्नर अधिकारी

admin

काठमाडौँ, मंसिर २ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट हुने बताउनुभएको छ ।

नेपाल क्लियरिङ्ग हाउसले बिहीबार नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको औपचारिक थालनी गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्रत्येक नागरिकको हातबाट डिजिटल कारोबारको थालनी विकास हुने बताउनुभयो ।

गभर्नर अधिकारीले अब सबै विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यम बीच अन्तर–आबद्धता कायम हुने बताउनुभयो ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यले नेशनल पेमेन्ट स्वीचको पहिलो चरण कार्यक्रमले नेपालमा डिजिटल भुक्तानी प्रणाली कारोबारलाई प्रविधिमैत्री बनाउन थप सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युम्न पोखरेलले विगत १३ वर्षको अन्तरालमा नेपाल क्लियरिङ्ग हाउसले नेशनल पेमेन्ट स्वीचको थालनी गर्नु धेरै राम्रो काम भएको बताउनुभयो । उहाँले नेपालको आफ्नै भुक्तानी पेमेन्ट स्वीच सेवा थालनी हुनु खुसीको विषय भएको बताउनुभयो ।

एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्थासँग बिहीबार नै सम्झौता गरेको छ । सरकारको बजेट तथा मौद्रिक नीतिमा उल्लेख गरे अनुसार नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागि एनसीएचएललाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृति प्रदान गरिएको थियो ।

नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैंकहरू, ५ वटा विकास बैंकहरू तथा ६ वटा फाइनान्स कम्पनीहरूसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यसैगरी अन्य बैंक/वित्तिय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवाप्रदायकहरूलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउँदै लैजाने एनसीएचएलले बताएको छ ।

प्रतिक्रिया