महामन्त्रीको दौडमा युवा नेता

admin

काठमाडौँ, मंसिर ४ : कांग्रेस महामन्त्री वदमा पुग्न दोस्रो पुस्ताका नेता मात्रै मैदानमा देखिएका छन् । सभापतिपछि कार्यकारी भुमिकामा महामन्त्री शक्तिशाली मानिन्छ । विगतका महाधिवेशनबाट यो पदमा एक जना मात्र निर्वाचित हुने व्यवस्था थियो ।

तर, विधान संसोधनपछि १४ औं महाधिवेशनबाट दुई महामन्त्री निर्वाचित हुनेछन् । १४ पदाधिकारीमा कोषाध्यक्षबाहेक अरु निर्वाचित हुने व्यवस्था कांग्रेसले गरेको छ ।

महामन्त्रीका आकांक्षीहरु प्यानलमै उम्मेदवार बन्ने दाउमा देखिन्छन् । सभापति शेरबहादुर देउवा पक्षबाट बालकृष्ण खाँण, ज्ञानेन्द्र बहादुर कार्की, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक र विश्वप्रकाश शर्मा आकांक्षी छन् ।

राप्रपाबाट एकता गरी आएका सुनिल थापा पनि संस्थापनबाटै उम्मेदवार बन्न ‘लबिङ’ गरिरहेको नेताहरु बताउँछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट डा. मिनेन्द्र रिजाल, गगन थापा र धनराज गुरुङ आकांक्षी छन् ।

नेता कृष्णप्रसाद सिटौला समूहबाट प्रदीप पौडेल आकांक्षी छन् । थापा पौडेल पक्षलाई एकजुट बनाएर आफू उम्मेदवार बन्ने रणनीतीमा रहेको नेताहरु बताउँछन् । देउवाइतर समूहबाट सभापतिमा साझा उम्मेदवार बन्ने धारणा नेताहरुले राख्दै आए पनि सहमति जुटेको छैन ।

पौडेल समूहबाट जसले सभापति पाउँछ, त्यहीभित्रको अर्को पक्षले महामन्त्री पाउने नेताहरु बताउँछन् । डा.शशांक कोइरालाले सभापति पदको उम्मेदवारी नपाए डा. रिजाललाई महामन्त्री अघि सार्ने सम्भावना छ ।

डा. शेखर कोइराला सभापतिको उम्मेदवार नबने गुरुङलाई महामन्त्रीमा अघि सार्ने सम्भावना रहेको युवा नेता बताउँछन् । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रतिक्रिया