सर्वोच्चमा प्रहरीका तीन गणको ‘रिजर्भ फोर्स’

admin

काठमाडौँ, मंसिर ४ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत कानुन व्यवसायीलाई रोक्न सर्वोच्च अदालत परिसरमा प्रहरीको ‘रिजर्भ फोर्स’ समेत तैनाथ गरिएको छ ।

नक्सालस्थित १ नम्बर गण, महाराजगन्जस्थित २ नम्बर गण, कपनस्थित विशेष कार्यदल (स्पेसल टास्क फोर्स) बाट रिजर्भ फौजलाई दैनिक रूपमा खटाउन थालिएको हो ।

अदालतभित्रको शान्ति सुरक्षा एवं आवागमन व्यवस्थित गर्न परम्परागत रूपमा अदालत–प्रहरी तैनाथ छ । त्यसले नपुगेमा नजिकैको प्रहरी युनिटबाट समेत थप मद्दत माग्न सकिन्छ । तर प्रहरी प्रधान कार्यालयले कानुन व्यवसायीको आन्दोलन लक्षित गरेर सर्वोच्च अदालत परिसर र रामशाह पथ क्षेत्रमा तीनवटा गणबाट प्रहरी परिचालन गरेको छ ।

त्यसबाहेक महानगरीय प्रहरी परिसर टेकुसहित विभिन्न वृत्तबाट समेत प्रहरीको उपस्थिति बढाइएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै कात्तिक ८ बाट न्यायाधीशले बेन्च बहिष्कार गरेका थिए ।

एक सातापछि कात्तिक १४ बाट नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायी आन्दोलनरत छन् । कानुन व्यवसायीले प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रशासनले कात्तिक २६ मा प्रहरीबाहेक सिनामंगलस्थित सशस्त्र प्रहरी विपद् व्यवस्थापन गणबाट समेत सुरक्षाकर्मी खटाएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया