देउवा, प्रचण्ड र माधव नेपालले रामदेवको चाकडी गरे : भीम रावल

admin

काठमाडौँ, मंसिर ४ : प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भारतीय योगगुरू बाबा रामदेवको चाकडी गरेको टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटमार्फत नेपालमा विदेश लगानीको टिभी उद्घाटन गर्न दिएर देशको कानुनको उल्लंघन गरेको आरोप लगाउँदै तीनै जना योगगुरु रामदेवको चाकडी गरेकाे टिप्पणी गरे ।

उनले भनेका छन्, ‘प्र.मं. देउवा,प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टि.भी. भारतीय योगगुरूलाई सञ्चालन गर्नदिन त्यसको उदघाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो। यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्।’

विदेशी लगानीको टिभी उद्घाटन गर्नेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) राष्ट्रघाती भएको देखेर पनि नदेखेझैँ गरेको पनि उनले भनेका छन् ।

शुक्रबार पतञ्जली आयुर्वेदका लगानीकर्ता एवं योगगुरू रामदेव, पतञ्जलीका अध्यक्ष आचार्य बालकृष्णले मण्डिखाटारमा आस्था नेपाल र पतञ्जली नेपाल टिभी सञ्चालनमा ल्याएका छन्।

दुबै टिभीको उद्घाटन आश्रममा प्रधानमन्त्री देउवाले गरेका थिए। प्रधानमन्त्री देउवासँगै प्रचण्ड र नेपाल पनि थिए । अहिले यस विषयमा चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया