काभ्रे, मंसिर ५ : एक बृद्धलाई विद्यालय समयमा टिपरले ठक्कर दिएपछि काभ्रेको पनौतीमा विद्यार्थी र स्थानीयहरुले प्रदर्शनलाई दुई दिनदेखी जारी राखेका छन् ।
यहि मंसिर ३ गते दिउँसोको समयमा बा ३ क १८४७ नम्बरको टिपरले स्कुल क्षेत्रको बाटोमा हिंडिरहेको एक वृद्धलाई ठक्कर दिएको थियो ।
ओभरलोड सहित तीव्र गतिमा हिंडिरहेको टिपरले पनौती नगरपालिका ८ का स्थानीय मधुसुदन केसीलाई ठक्कर दिएको हो ।
घाइते केसीको हाल काठमडौंमा थप उपचार भइरहेको छ भने होस खुल्न सकेको छैन। टिपर भने ठक्कर दिएर भागेको थियो । वृद्धको उपचारसँगै पनौतीका स्थानीयले टिपरको ज्यादतीविरुद्ध ३ गते दिउँसोदेखि टिपर चल्न दिएका छैनन्।
हिजो ४ गते पनि स्थानीयले सडकमा टायर बालेर विरोध गरेका थिए। आज पनौतीका स्थानीय, विद्यार्थी लगायतले टिपरको ज्याततीविरुद्ध पनौती नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन्।
विद्यालयको समयमा समेत टिपर तीव्र गतिमा सञ्चालनमा आएको भन्दै विद्यालय व्यवस्थापन समिति र स्थानीयले नगरपालिमा ज्ञापन पत्र बुझाएको शिक्षक रामचन्द्र थापाले जानकारी दिए। टिपरको वैकल्पिक मार्ग र टिपरको विकल्पको माग गरिएको थापाले बताए।
विद्यालय क्षेत्र र समयमा टिपर रोक्नुपर्ने, प्रेसर हर्न निषेध क्षेत्र घोषणा गर्नु पर्ने मागसहित ज्ञापन बुझाएको शिक्षक थापाले जानकारी दिए।
विद्यार्थी, शिक्षक र स्थानीयले बुझाएको ज्ञापन पत्र बुझ्दै पनौती नगरपालिकाका अधिकृत इन्द्र अधिकारीले यस घटनालाई गम्भीरतापूर्वक हेरिरहेको जानकारी दिए ।