मासिँदै देशकै जेठो गौशाला

admin

काठमाडौँ, मंसिर ६ : ९५ वर्षअघि निगौल गाई गौशालाको जग्गा २ सय बिघा थियो । १५ सय गाई थिए । जग्गा अतिक्रमणका कारण गौशालासँग १ सय ४८ बिघा १५ कट्ठाको मात्रै लालपुर्जा छ ।

गाई, बच्छाबाच्छी र साँढे गरी २ सय ९४ वटा मात्रै बाँकी छन् । झन्डै ५२ बिघा जमिन र १२ सय गाई हराएका छन् ।

गौशालाको सम्पत्ति विभिन्न व्यक्तिले हडपेका छन् । जसकारण चरण क्षेत्र मासिएको छ । गाईलाई खुवाउन हम्मेहम्मे परिरहेको छ । जहाँ वस्ती विस्तार भइसके । ठूला पक्की भवन बनिसकेका छन् । ‘गाईले केही खानेकुरा पाउँदैनन् । पराल पनि १० दिनमा एक दिन पाउँछन् ।

गुन्डा (कुडो) त देख्नै पाउँदैन । गाई, बाच्छाबाच्छी, साँढे भोकै प्याँसै बाँचिरहेको छ,’ गोठाला प्रमेश्वर मण्डल भन्छन्, ‘डेढ महिनाभित्र १० वटा गाईवस्तु खानै नपाएर मरे ।’ यहाँ काम गर्ने २० कर्मचारीले नियमित तलबसमेत नपाएको उनी सुनाउँछन् ।

बहाल बिदौरीका नाममा जग्गा भाडा लिएकाहरुले आफ्नै नाममा लालपुर्जा बनाएका छन् । नापी, मालपोत र गौशालाकै कर्मचारीको मिलोमतोमा जग्गा हडपेको जानकार बताउँछन् ।

यहाँको सम्पत्तिमा बोलवालाको रजाइँ छ । विभिन्न दलका स्थानीय नेताले अतिक्रमणकारीलाई साथ दिएको जनता समाजवादीका लक्ष्मी महतो बताउँछन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ  ।

प्रतिक्रिया