निर्वाचन आयोगले मंसिर १७ गतेबाट मतदाता नामावली संकलन गर्दै

admin

काठमाडौँ, मंसिर ६ : स्थानीय तहको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन आयोगले यही मंसिर १७ गतेबाट मतदाता नामावली संकलन अभियान सुरु गर्ने भएको छ ।

निर्वाचनको मिति घोषणा हुनुभन्दा अगाडि मतदाताको नाम दर्ता गर्नुपर्ने भएकाले निर्वाचन आयोगले १५ दिनभित्र सम्पन्न गर्ने गरी नामावली संकलन गर्न लागेको हो ।

निर्वाचन आयोगका अनुसार यो पटक मतदाता नामावली संकलन हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म तथा तराई, भित्री मधेस र काठमाडौं उपत्यकामा १५ दिनसम्म सञ्चालन हुनेछ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै मतदाता नामावली संकलन हरेक जिल्लामा दुई चरणमा हुने भएकाले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरि त्यसबारे जानकारी लिन सकिने बताएको छ ।

रोजगारी वा अध्ययनका सिलसिलामा आफ्नो जिल्ला बाहिर रहेका नागरिकले अन्य जिल्लाका निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

अन्य जिल्लाबाट दर्ता भएका व्यक्तिको नाम स्थायी ठेगाना रहेको स्थानमा पठाइने भएको छ । यसैवीच, निर्वाचन आयोगले देशभरबाट गरी करीब १० लाख मतदाता थप हुने अनुमान गरेको छ । २०७७ चैत ४ गते प्रकाशित सूची अनुसार १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता छन् ।

सो अभियानमा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रुपमा परिचालित हुने आयोगले जनाएको छ । आयोगका अनुसार पुस २० गतेभित्र नामावली संकलन कार्य पूरा भइसक्नेछ ।

निर्वाचन आयोगले नियमित रुपमा ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय तथा विभिन्न ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन कार्य गर्दै आइरहेकोमा गत वर्ष कोभिड–१९ महामारीको कारण नामावली सङ्कलन कार्यलाई स्थगित भएको थियो ।

मतदाता नामावलीमा नाम दर्ता गराउन बाँकी रहेका नेपाली नागरिकले आफ्नो स्थानीय तह वा नामावली सङ्कलन भइरहेको जिल्लास्थित इलाका प्रशासन कार्याल, जिल्ला प्रशासन कार्यालय वा कुनै पनि निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने जनाएको छ ।

प्रतिक्रिया