एमालेको १०औं महाधिवेशन आजदेखि शुरु

admin

काठमाडौँ, मंसिर १० : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितनवमा शुरु हुँदैछ ।

अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि ओली हिजै चितवन पुग्नुभएको छ भने अन्य एमाले नेताहरु पनि चितवन पुगेका छन् ।

महाधिवेशनमा सहभागी हुने अधिकांश प्रतिनिधिहरु पनि हिजो नै चितवन पुगिसकेका छन् । उद्घाटन कार्यक्रममा पाँच लाख नेता कार्यकर्ताको उपस्थिति हुने प्रचार विभाग प्रमुख योगेश भट्टराइले बताउनु भएको छ । उद्घाटन पूर्व नवलपुरको गैँडाकोट र चितवनका विभन्न ठाउँ सहित ७ स्थानबाट जुलुसहरु निकाल्ने कार्यक्रम रहेको पनि भट्टराइले जानकारी दिनुभयाे ।

महाधिवेशनमा आउनेहरुको स्वागतका लागि जिल्लाका विभिन्न ५० ठाउँमा स्वागत गेट, व्यानर, पार्टीका झण्डा विभिन्न ठाउँमा राखेर चितवनलाई झकिझकाउ बनाइएको छ ।

महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन्। चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

महाधिवेशनमा दुई हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र मनोनित १०६ जना गरी दुई हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहने छन् ।

एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहने छन् । कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित रहेका छन् ।

महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । एमाले महाविधेशन प्रतिनिधिका लागि मंसिर १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ ।

आज बेलुका मात्रै प्रतिनिधिलाई परिचयपत्र बाँडिने छ । मंसिर ११ गते बिहान ८.३० बजेबाट बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको छ । बन्द सत्र भने पर्यटकीय नगरी सौराहाको होटल सेभेन स्टारमा हुनेछ । त्यहाँ रहँदा प्रतिनिधिहरुलाई बेलुका आफू बसेको होटलमा र बिहान सोही होटल सेभेन स्टारमै खानाको व्यववस्था गरिएको छ ।

चितवन जिल्ला प्रशासनले आजका लागि नो भेकल मुभमेन्ट भने पनि सर्वसाधारणलाई सवारी साधन प्रयोगमा रोक नलगाउने भट्टराइको भनाई छ । मालवाहक सवारी बाहेक अन्य सवै सवारी यथावत चल्ने उहाँको भनाइ छ ।

स्थानीय प्रशासनले भने विहान १० बजेदेखि साँझ ५ बजेसम्म सवारी साधन नचलाईदिन आग्रह गरेको छ । महाधिवेशनको बन्दसत्रको समाचार संकलन गर्ने पत्रकारहरुलाई सौराहकै रोयल सफारीमा मिडिया सेन्टरको स्थापना गरिएको छ । महाधिवेशनले २२५ सदस्यीय नेकपा एमालेको नयाँ कमिटी समेत गठन गर्नेछ ।

प्रतिक्रिया