मिर्चैयाका रामसागर साफी न्याय माग्न मिडियामा : रुँदै भने ‘भारतीय नम्बरबाट फोन गरेर धम्की आईरहेको छ, गोली प्रहार गर्नेहरु खुलमखुल्ला हिँडिरहेका छन्’

admin

काठमाडौँ, मंसिर १० : मिर्चैयाका रामसागर साफी न्याय माग्न मिडियामा, रुँदै भने–‘अहिले पनि भारतीय नम्बरबाट फोन गरेर धम्की आईरहेको छ, गोली प्रहार गर्नेहरु खुलमखुल्ला हिँडिरहेका छन्’ ।

काठमाडौं, १० मंसिर । सिरहास्थित् मिर्चैया नगरपालिकाका स्थायी वासिन्दा रामसागर साफीले आफुलाई अंशवण्डाको मुद्दामा आफ्नै दाईले गोली प्रहार गरेर अपांग बनाएको तर, सरकारका कुनैपनि निकायबाट आफुले न्याय नपाएको गुनासो गरेका छन् । आफूमाथि गोली प्रहार गर्ने दोषीहरुलाई तत्काल कारबाही हुनुपर्ने उनको माग छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफु अन्यायमा परेको लामो समय भएपनि अहिलेसम्म अदालतले न्याय नदिएको गुनासो पोखेका छन् ।

‘अंशवण्डाको मुद्दाको विषयलाई लिएर दाई सुर्यदेव साफी, भाउजु गीतादेवी साफी र भतिज रोहित साफीको संलग्नतामा सुटर महोमद हाकी फकिरमियाँ र रविन शाहीले ममाथि दुई पटकसम्म गोली प्रहार गरे’ उनले भने ।

वैशाखीको साहारामा हिँड्ने साफीले आफूमाथि तरवारसमेत प्रहार भएको बताएका छन् । ‘म अहिले अपांग भएको छु । तर, अहिले तीनै पीडकहरु खुलमखुल्ला हिँडिरहेका छन्’–उनले भने ।

२०७१ पुस २९ गते आफूमाथि गोली प्रहार भएको र गोलीको छर्राले घुँडा प्वाल परेको साफीले बताए । तर, त्यतिले मात्र नपुगेर गोली प्रहार भएको ७ महिनापछि आफ्नो टाउकोमा नै निशाना बनाएर तरबार प्रहार भएको उनले बताएका थिए ।

‘२०७८ जेठ २२ गते म आफ्नै औषधी पसलमा बसिरहेको समयमा दोस्रो पटक गोली प्रहार भएको थियो । घट्नालगत्तै घटनामा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको थियो’–उनले भने ।

तर, सिराहा जिल्ला अदालत र उच्च अदालत जनकपुरले उनीहरुलाई उन्मुक्ती दिएको भन्दै उनले दुःख पोखेका छन् । उनकाअनुसार दोषीहरु अहिले धरौटीमा रिहा भएका छन् ।

‘सरकारी वकिलको कार्यालयमा उनीहरुले आफु संलग्न भएको स्विकार गरेको भएपनि सेटिङ गरेर उनीहरु छुटेका छन्’–उनले भने । अहिले काठमाडौंमा रहेका साफीलाई भारतीय नम्बरबाट फोन गरेर मुद्दा फिर्ता लिन बारम्बार दबाव दिइरहेका छन् ।

‘मुद्दा फिर्ता नलिए परिवारलाई नै मार्ने धम्की दिईरहेका छन् । घरको वरिपरि १०-१५ वटा बाइक ल्याएर दादागिरि देखाइरहेका छन्’, उनले भने । उनले उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा चलिरहेको छ ।

प्रतिक्रिया