किन धुम्म छ मौसम ?

admin

काठमाडौँ, मंसिर १२ : केही दिनयता काठमाडौं उपत्यका र खासगरी तराई क्षेत्रको आकाश प्रदूषित तुवाँलोले ढाकेको छ ।

वेलावेला मधुरो घाम झुल्किए पनि तुवाँलो फाट्न सकेको छैन । सामान्यतः वायुमण्डलको तल्लोभन्दा माथिल्लो तहको तापक्रम बढी हुनुपर्नेमा ठीक उल्टो हुँदा मौसम धुम्म बनेको हो ।

मौसमविद्हरूका अनुसार यस्तो अवस्थामा माथिल्लो तह चलायमान र तल्लो तह स्थिर हुन्छ । तुलानात्मक रूपमा माथिल्लो तह बढी ठण्डा भए मात्र त्यहाँको गह्रौँ हावा तल्लो तहमा झर्ने र तलको हावालाई विस्थापन गरेर माथि पठाउने गर्छ । यसो हुँदा मौसम खुल्छ ।

‘स्वस्थ वातावरणका लागि वायुमण्डलको माथिल्लो तह तल्लोभन्दा बढी ठण्डा हुनुपर्छ । तर, अहिले तल्लोभन्दा माथिल्लो तहको तापक्रम बढी छ । यो अवस्थामा तल्लो तहमा जमेको हावा विस्थापन हुन सकेको छैन ।

यो हावामा प्रदूषण मिसिँदा तुवाँलोले वातावरण नै धुम्म बनेको छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘हावा नचल्दा वा पानी नपर्दासम्म मौसम सफा हुँदैन, तुवाँलो बढ्दै जान्छ । घाम नलाग्दा चिसो पनि बढ्दै जान्छ ।’

वातावरण विभागका अनुसार शनिबार साँझ वायु गुणस्तर सूचकांक पिएम– २।५ ९पार्टिकुलेट म्याटर०को मात्रा कीर्तिपुरमा १८६, रत्नपार्कमा १६१ र शंखपार्कमा १३१ माइक्रोग्राम प्रतिघनमिटर पनि नाघेको छ ।

शुक्रबार यो सूचकांक कीर्तिपुरमा १६० र रत्नपार्कमा १५२ थियो । सूचकांक १५० नाघ्दा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई जोखिम हुन्छ । शनिबार साँझ पिएम– २।५ को मात्रा सबैभन्दा बढी विराटनगरमा २३२ पुगेको छ । यो सूचकांक २०० नाघ्नुलाई घातक मानिन्छ । यो समाचार आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया