आज कांग्रेसको प्रदेश अधिवेशन, देउवा र पौडेल समूह भिड्दै

admin

काठमाडौँ, मंसिर १६ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज सातै प्रदेशमा प्रदेश अधिवेशन शुरु हुन लागेको छ। प्रदेशमा पनि कांग्रेसका दुई समूह भिड्न लागेका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश १ को विराटनगरमा, प्रदेश २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुन लागेको छ। यसका लागि सबै प्रदेशमा कांग्रेसले केन्द्रीय नेता खटाइएको छ।

प्रदेश अधिवेशन गर्नका लागि कांग्रेसले प्रदेश १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठलाई आयोजक समितिको संयोजक बनाएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशमा बालकृष्ण खाण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडुलाई आयोजक समितिको संयोजक रहेका छन्।

सबै प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री चयन हुनेछन्। प्रदेश कोषाध्यक्ष भने मनोनयन गर्ने व्यवस्था रहेको छ। प्रदेश अधिवेशनमा पनि सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भिड्न लागेका छन्।

पौडेल समूहलाई महामन्त्री शशांक कोइराला र नेता शेखर कोइराला समूहले साथ दिएको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह देउवा पक्षमा उभिएको छ।

प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता रहने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।

सातै प्रदेशमा आज अधिवेशन उद्घाटन हुनेछ।। भोलि प्रदेश पदाधिकारी तथा सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। १८ मंसीरमा निर्वाचन हुनेछ।

प्रतिक्रिया