तत्काल संविधान संशोधन गर्न डा. बाबुराम भट्टराईको माग

admin

काठमाडौँ, मंसिर १८ : सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

त्यसका लागि तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागिपरेको दावी गरे।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा आफ्नो पार्टीले संसद्मा उठाइराखेको र मन्त्रिपरिषद्‌मा पनि सरकारमा सहभागी मन्त्रीमार्फत सो प्रस्ताव पेश गर्न लगाउने आश्वासन समेत दिए।

अध्यक्ष भट्टराईले पुनः संघर्ष नगरी न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्क समेत गरे। उनले नेवाः स्वायत्त राज्य स्थापनाका लागि नेवार समुदायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।

उनले भने, ‘अहिले संसद्‌बाट मात्रै सबैथोक होस् भनेर मात्रै हुँदैन। संघर्ष नगरीकन यो प्राप्त हुँदैन। शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन। त्यसका लागि हामी एक ढिक्का भएर अगाडि बढौं।’

प्रतिक्रिया