संकटासँग हारबाट जोगियो मनाङ, एनआरटी र च्यासलको बराबरी

admin

काठमाडौँ, मंसिर १८ : राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार मनाङ मस्याङ्दी क्लब र संकटा क्लव तथा च्यासल र न्युरोड टिमले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा च्यासल र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा च्यासलका लागि रुमेश बर्तौलाले गोल गरे ।

एनआरटीका दिपेश घलेले बराबरी गोल फर्काए । खेलको ४३ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई १–० को अग्रता दिलाए । खेलको ७८ औं मिनेटमा एनआरटीका दिपेशले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा फर्काए । यस बराबरीसँगै च्यासलले ३ खेलमा ४ अंक जोडेको छ । एनआरटीले ३ खेलमा २ अंक जोडेको छ ।

त्यसअघि शनिबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा मनाङले संकटासँग २–२ गोलको बराबरी खेलेको हो । संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक एक गोल गरे ।

मनाङका लागि दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा निरजले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए । लक्ष्मण रुचालको फ्रिकिक पासमा निरजले हेडरमार्फत गोल गरे ।

तर, खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा फर्काए । त्यस्तै खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याएर हारबाट जोगाए । यस बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । संकटाले भने ५ अंक जोडेको छ ।

प्रतिक्रिया