पूर्वराजा ज्ञानेन्द्रले हस्तक्षेप गरेकै हुन, मसँग प्रमाण सुरक्षित छ : कमल थापा

admin

काठमाडौँ, मङ्सिर २१ :  राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले आफ्नो पार्टीको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्रले हस्तक्षेप गरेको फेरि दोहोर्‍याएका छन् । यसको सबै प्रमाण आफूसँग सुरक्षित रहेको उनको दाबी छ ।

थापाले एक विज्ञप्ति जारी गर्दै निर्मलनिवासको अवाञ्छित र अमर्यादित हस्तक्षेपले राजसंस्थासम्बन्धी आफ्नो आधारभूत मान्यतामाथि गम्भीर आघात पुगेको बताएका छन् ।

‘अत्यन्त प्रतिकूल अवस्थामा पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको म र राप्रपालाई अहिले परेको पीर यही हो । म नैतिक र धर्मसंकटमा परेको छु,’ विज्ञप्तिमा उनले भनेका छन् । थापाले राप्रपालाई भजनमण्डली बनाउने निर्मल निवासको योजना कहिल्यै सफल हुन नदिने बताएका छन् ।

‘राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा अब राप्रपाभित्र बहस सुरु हुनेछ,’ उनले भनेका छन् ।
यस्तो छ थापाले जारी गरेको विज्ञप्तिको पूर्णपाठ जस्ताको तस्तै :

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका सथा सम्पन्न भएको छ । महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक वधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु ।

महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ । विगतमा पटकपटक विभाजनको पिडा भोगेको हुंदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुंदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ ।

अध्यक्ष पदमा पराजयका वावजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ । केन्द्रिय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पुर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन।

२०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ।

मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन ।

हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ । तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथी नै गंभीर आघात पुगेको छ ।

नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ ।

राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं ।

अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप (यस सम्वन्धि यथेष्ट प्रमाण हामीसंग सुरक्षित छ) हुन्छ भने भोली राजसंस्था स्थापित हुंदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुंदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ ।

विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुंदैन भनेर अब हामीले कुन मुखले भन्ने? अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो ।

म नैतिक र धर्मसंकटमा परेको छु । यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होईन, राप्रपालाई “भजन मण्डली” बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ ।

राप्रपालाई “भजन मण्डली” बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं । राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस शुरू हुनेछ ।

प्रतिक्रिया