९ महिनादेखि नतिजा कुर्दै १६ हजार विद्यार्थी

admin

काठमाडौँ, मङ्सिर २४ : त्रिभुवन विश्वविद्यालय नियमावलीअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्छ तर २०७७ फागुनमा सम्पन्न परीक्षाको नतिजा ९ महिना बित्दा पनि आएको छैन ।

परीक्षा नियन्त्रण कार्यालयले मानविकी संकायतर्फ स्नातकोत्तर तह जनप्रशासन र राजनीतिशास्त्र तथा व्यवस्थापनतर्फ एमबीएस परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ गर्दा १६ हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् ।

एमबीएसका ५ हजार ६ सय, एमपीएका ३ हजार ५ सय र राजनीतिशास्त्रका ७ हजारभन्दा बढी विद्यार्थी नतिजा कुरेर बसेका छन् । एमए राजनीतिशास्त्रको परीक्षा दिएर बसेका नेपाली सेनाका हुद्दा दर्जाका एक सैनिकले त्रिविको ढिलाइले आफ्नो पदोन्नतिमा असर परेको गुनासो गरे ।

‘पढाइ भनेको करियरसँग जोड्नका निम्ति हो,’ उनले भने, ‘तर त्रिविले बेलैमा रिजल्ट ननिकाल्दा यसपालि अवसर गुम्यो । कम्तीमा पाँच महिनाभित्र रिजल्ट आएको भए बढुवाका निम्ति अंक थपिने थियो ।’

उनले वार्षिक प्रणालीअन्तर्गत एमए पढेर परीक्षा दिँदै आएको तर सेवाकालीन अवसरमा हैटी गएपछि दोस्रो वर्षको परीक्षा ढिलो गरी पूरा गरेको बताए ।

राजनीतिमा सक्रिय रहेकी स्याङ्जाकी दिलिपाश्री अधिकारी पनि राजनीतिशास्त्र विषयको नतिजा पर्खेर बसेकी छन् । अंग्रेजीमा स्नातकोत्तर गरिसकेकी उनले भनिन्, ‘मास्टर्स डिग्री भनेको सामाजिक हैसियत निर्माण गर्ने आधार पनि हो ।

यसअघि अंग्रेजीमा एमए गरिसकेकाले सर्टिफिकेट देखाउनैपर्ने समस्या छैन तर जसले राजनीतिशास्त्रलाई पहिलो डिग्रीका रूपमा लिएका छन्, उनीहरूका निम्ति नतिजा प्रकाशन ढिलो हुँदा बाधा पुगेको हुन सक्छ ।’

अंक चढाउनका लागि कम्प्युटर प्रणालीमा दक्ष जनशक्ति अभाव रहेका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । ‘आठ जना हुनुपर्नेमा दक्ष प्राविधिक कर्मचारी दुई जनामात्र छन्,’ उनले भने, ‘त्यसमा पनि जान्ने एक जना छन् ।’

सालदेखि कार्यरत ती कर्मचारीले उमेर हदका कारण अवकाश पाएपछि फेरि करार नियुक्ति दिएर काम गराइएको नियन्त्रक जोशीले जनाए ।

नतिजा प्रशोधनदेखि प्रकाशनसम्म एकै जनाको भरमा छ । दुई वर्षअघि थप एक जना प्राविधिक कर्मचारी थपिए पनि निपुण हुन नसकेको उनले बताए ।

‘डिन कार्यालयले परीक्षा चलाउने भएपछि नियन्त्रण कार्यालयको दक्ष जनशक्ति तानिदियो,’ उनले भने, ‘सट्टामा अवकाश पाउन लागेका र जगेडामा राखिएकालाई पठाइदियो । जनशक्ति नहुँदा चुपचाप छु ।’

उनले २०७५ यता नतिजा प्रकाशन ढिलो हुँदै आएको स्विकारे । कोभिड–१९ को लकडाउनका बेला पनि नतिजा प्रकाशन निरन्तर राखेको उनले दाबी गरे ।

त्रिविमा उत्तरपुस्तिका परीक्षणमा पनि उस्तै समस्या छ । देशभरिका क्याम्पसबाट उत्तरपुस्तिका राजधानीको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याउने र विषय शिक्षकलाई घर–घरमै पुर्‍याएर जाँच्न लगाउने गरिएको छ ।

त्रिविले हालसम्म क्षेत्रीय तहमा उत्तरपुस्तिका जाँच्ने व्यवस्था गर्न सकेको छैन । नियन्त्रण कार्यालयले स्नातक र स्नातकोत्तर तहको नतिजा प्रकाशन गर्छ । त्यसमा सबैभन्दा बढी चाप व्यवस्थापन संकायमा छ ।

तालिकाअनुसार व्यवस्थापनतर्फ वर्षभरि ११ वटा नतिजा प्रकाशन हुन्छ । यसैगरी मानविकी संकायमा ३१, विज्ञानतर्फ १३, कानुनमा ७ र शिक्षाशास्त्रमा १० वटा नतिजा प्रकाशन गर्नुपर्छ । तथ्यांकअनुसार यो वर्ष सबै संकायका गरी स्नातक पहिलो वर्षमा २ लाख ४२ हजार परीक्षार्थीले जाँच दिएका छन् ।

प्रविधिमा पनि त्रिवि निकै पछाडि छ । सूचना प्रविधिमा आधारित नतिजा प्रकाशन गर्ने लक्ष्य भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । सूचना प्रविधिमा आधारित नतिजा प्रकाशनका लागि पनि दक्ष जनशक्तिकै अभाव देखाउँछन् नियन्त्रक जोशी ।

‘डीबीएसलाई कन्भर्ट गरेर टीयू ईएमआईएस कन्भर्ट गर्‍यौं तर कम्तीमा सात जना कम्प्युटर जान्ने जनशक्ति नहुँदासम्म अनलाइन प्रणाली लागू गर्न सकिन्न,’ उनले भने ।

त्रिविले परीक्षा प्रणाली सुधारका निम्ति भनेर विश्व बैंकसँग सम्झौता गरेको थियो । त्यसैअनुसार परीक्षा सुधारका निम्ति तेस्रो उच्च शिक्षा सुधार परियोजना (२०१५–२०२०) लागू गरिएको थियो तर प्रतिबद्धताअनुसार परीक्षामा सुधार नआएपछि त्रिविले उक्त अनुदान गुमाइसकेको छ ।

‘त्रिविको परीक्षा प्रणाली सुधार नहुनु दुःखद हो, बढी नै लापरबाही भयो,’ विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले भने, ‘त्रिविले समयमा नतिजा प्रकाशन गर्न नसक्दा विश्व बैंकबाट लिनुपर्ने अनुदानसमेत गुमेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया