आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

admin

काठमाडौँ, मङ्सिर २४ : आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर मनाइँदैछ। यो दिवस प्रत्येक बर्ष डिसेम्बर १० तारिखका दिन मनाइन्छ।

सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप दिवस मनाउने गरिएको हो।

विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो। पछिल्लो तथ्यांकअनुसार यो घोषणापत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ। यस वर्ष संकटबाट थप सुन्दर, समान र स्वच्छ भएर उठ्नेछौँ भन्ने नाराका साथ दिवस मनाइँदैछ।

विश्व कोरोनाभाइरसको संकटबाट गुज्रिएकाले यो नारालाई यस वर्षको मूल नाराका रुपमा लिइएको हो। फेरि उठ्ने संकल्पका साथ दिवस मनाइरहँदा विश्वमा कोरोनाभाइरसका विभिन्न भेरियन्टले थप चासो र चिन्ता पनि बढाइरहेका छन्। सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरु मानव अधिकारभित्र पर्छन्।

दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्य भए पश्चात मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनको कार्यमा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबद्धता जनाउँदै आएको उल्लेख गरेका छन्।

उनले सोही प्रतिबद्धता अनुकूल हुने गरी नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकार अन्तर्गतका प्रायः सबै अधिकारहरूलाई मौलिक हकको रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताए।

प्रतिक्रिया