संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको विजय आवश्यक छ : उपसभापति निधि

admin

काठमाडौँ, मङ्सिर २४ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै आज उहाँले आगामी निर्वाचनमा कांग्रेसको एकमना सरकार बनाउन पार्टी बलियो हुनुपर्ने र त्यसका लागि नेतृत्व लाग्नुपर्नेमा जोड दिनुभयो ।

उपसभापति निधिले कांग्रेसको नेतृत्वमा मुलुकको द्वन्द्व समाधान भई शान्ति प्रक्रिया कायम भएको, राज्यको पुनसंरचना गरिएको र संविधानसभाबाट संविधान जारी गरिएको विषयलाई कांग्रेसले गौरवका साथ आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “१४औँ महाधिवेशनमा सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गरौँ, नसके स्वच्छ प्रतिस्पर्धा गरौँ”, उहाँले भन्नुभयो ।

अर्का उपसभापति विजयकुमार गच्छदारले कांग्रेसभित्र मेलमिलाप र एकता भएन भने कम्युनिष्टसँग मुकाविला गर्न नसक्ने बताउनुभयो । उहाँले कांग्रेस एक भए मात्र आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीलाई परास्त गर्न सकिनेमा जोड दिनुभयो ।

उहाँले पार्टीका नेताबीच प्रतिशोधपूर्ण प्रतिस्पर्धा नभई एकता कायम हुनुपर्ने उल्लेख गर्नुभयो । “विगतमा कांग्रेस विभाजन भएसँगै मुलुकको प्रजातान्त्रिक व्यवस्था लथालिङ्ग र उथलपुथल बन्न पुग्यो, अब हामी एक भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र केन्द्रदेखि वडासम्म एकता कायम राख्नुपर्ने बताउनुभयो । उहाँले पार्टीमा भावनात्मक एकता र युवामा ऊर्जा निर्माण गर्नु आजको आवश्यकता रहको उल्लेख गर्नुभयो ।

“लोकतान्त्रिक शासन व्यवस्था र यसको मूल्यमान्यतामाथि चुनौती देखिएको छ, आगामी निर्वाचन कांग्रेस सरकारको नेतृत्वमा निष्पक्ष र स्वतन्त्र बनाएर विद्यमान चुनौतीलाई पन्छाउनुपर्छ, त्यसका लागि परिवर्तन र सुधार आफैँबाट गरेर जनतामा जानुपर्छ”,उहाँले भन्नुभयो ।

प्रतिक्रिया