स्वास्थ्य बीमामा देखिएको समस्या समाधान हुन्छ : मन्त्री खतिवडा

admin

पाल्पा, २४ मङ्सिर : स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोना विरुद्धको खोपबाट नागरिक बञ्चित हुन नपर्ने बताउनुभएको छ ।

सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकोले दोस्रो पटकको खोप लगाउन पाउने उहाँले बताउनुभयो ।

पाल्पाको तानसेनमा आयोजित नेकपा (एकीकृत समाजवादी) पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने तयारी सरकारले गरेको बताउनुभयो ।

सरकारले सबै स्थानीय तहमा अस्पतालको व्यवस्थापन गर्न पाँचदेखि २० शय्याको अस्पताल निर्माणका निम्ति बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

सामान्य बिरामीहरु स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार गराउने व्यवस्था गर्न बजेटको सुनिश्चित गरिएको मन्त्री खतिवडाले बताउनुभयो ।

उहाँले स्वास्थ्य बीमामा देखिएको समस्या समधान गर्न सरकार तयार रहेको बताउनुभयो । सरकारले नागरिकको सुविधाका लागि सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई राहत हुनुपर्ने बताउनुभयो ।

मन्त्री खतिवडाले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन रहने बताउनुभयो । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेयले एकीकृत समाजवादी पार्टी पाल्पामा बलियो पार्टीको रुपमा सङ्गठित भइरहेको बताउनुभयो ।

प्रतिक्रिया