बाढीपहिरा पीडित परिवारलाई आर्थिक सहयोग

admin

मङ्गलबारे, २६ मङ्सिर : पहिरापीडित परिवारलाई इलामको फाकफोकथुम गाउँपालिकाले नगद सहयोग गरेको छ । गत कात्तिकको पहिलो हप्ता आएको बेमौसमी वर्षाबाट सो स्थानमा पहिरो गएको थियो ।

पहिरोका कारण परिवारका सदस्य गुमाएका परिवारलाई गाउँपालिकाले रु चार लाख सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई र वडाध्यक्ष राजु पौडेलले नैनसिंह कटुवाल परिवारको घरमै पुगेर सो रकम हस्तानतरण गर्नुभएको हो ।

पहिराका कारण कटुवाल परिवारका चार जनाको मृ त्यु भएको थियो । साथै गाउँपालिकाको तर्फबाट घर निर्माणका लागि रु एक लाख थप सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

सरकारले पहिराका कारण मृ त्यु भएका परिवारलाई यसअघि नै प्रतिमृतक रु दुई लाख नगद दिने घोषणा गरेको छ । बेमौसमी वर्षासँगै कात्तिक २ र ३ गते पहिरामा परी फाकफोकथुम–३ का एउटै घरका चार जनाको सुतेकै ठाउँबाट पहिराले बगाएर मृ त्यु भएको थियो । सो परिवारलाई राहत वितरण भइसकेको छ । फाकफोकथुम– १ का दुई जना मृतकका परिवारलाई पनि राहत दिने तयारी भइरहेको जनाइएको छ ।

बाढीपहिरामा परी फाकफोकथुम गाउँपालिकामा मात्र छ जनाले ज्यान गुमाएका थिए । यसमा फाकफोकथुम–३ का ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षीय निश्चित कटुवाल रहनुभएको छ ।

फाकफोकथुम–१ का ३० वर्षीया बिना शेर्मा, १४ वर्षीय आइतबहादुर राई रहनुभएको छ । जिल्लामा पहिराका कारण १५ जनाको ज्यान गएको थियो । यसअघि नै पीडितको घरमै पुगेर सरकारको तर्फबाट राहत वितरण भइसकेको छ ।

प्रतिक्रिया