काठमाण्डौको कीर्तिपुर र चन्द्रागिरिमा आज सातगाउँले जात्रा मनाइँदै

admin

काठमाडौँ, मङ्सिर २७ : काठमाण्डौको कीर्तिपुर र चन्द्रागिरिमा आज सातगाउँले जात्रा मनाइँदैछ । विष्णुदेवी पीठ केन्द्रित गरेर मनाइने सातगाउँले जात्रा कीर्तिपुर, मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा अस्तिदेखि नै सुरु भएको हो ।

जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमदः न्हय्गाँ जात्रा भनिन्छ ।

जात्राका लागि सप्तमीको राति सातै गाउँका गुठियारहरूले आ–आफ्नो गुठीमा भैरव साधना गरी भित्र्याएका छन् ।

हिजो कीर्तिपुर दरबार क्षेत्रमा रहेको इन्द्रायणी मन्दिर, नगाउँको बालकुमारी, पांगाउँको विष्णुदेवी मन्दिरलगायत सातगाउँका गुठियारहरूले पूजाआजा गरी मन्दिरबाट देवता बाहिर ल्याएका छन् ।

जात्राका लागि कलात्मक झ्याल–ढोका भएका मन्दिर, चैत्य, ढुङ्गेधारा, टोल चोक सिङ्गारपटार गरी चिटिक्क बनाइएको छ । जात्राको अवसरमा कीर्तिपुर नगरपालिकाका सबै र चन्द्रागिरि नगरपालिकाका ९, १०, ११ र १५ नम्बर वडामा आज स्थानीय बिदा दिइएको छ ।

 

प्रतिक्रिया