वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने

admin

काठमाडौँ, मङ्सिर २७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा जारी १४औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट पछि हटेका पौडेलले आज हुने मतदानमा पनि भाग नलिने भएका हुन् ।

पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार पौडेलले मतदानमा भाग नलिने भएका हुन्। सभापति पदमा प्रतिस्पर्धा नगरेका बरिष्ठ नेता पौडेलले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका छैनन् ।

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ। सभापति पदमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरूङले उम्मेदवारी दिएका छन्।

निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ।

मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको कांग्रेसले जनाएको छ। महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।

त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ। भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको छ । मतदान सोमबार बेलुका ५ बजेसम्म हुनेछ।

प्रतिक्रिया