बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक छ : अर्थमन्त्री

admin

काठमाडौं, २७ मंसिर : अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको बताएका छन् । (आज) सोमबार ललितपुरमा बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै पुरानै ऐन कानुनमा शंसोधन आवश्यक रहेको बताएका हुन् ।

उनले बीमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत सोहीअनुरूप विकसित गराउँदै लैजानुपर्ने धारणा पनि राखे । उनले पूर्वाधार, व्यवसाय, जनताका विविध जोखिम, किसानहरूका जोखिमलगायतका जोखिमहरूको राम्रोसँग पहिचान गर्न सक्नुपर्ने बताए ।

जोखिम पहिचान नगरेसम्म बीमा गर्नमा समेत समस्या हुने बताउँदै उनले पहिले सबै जोखिमहरूको पहिचान गर्नुपर्नेमा जोड दिए । मन्त्री शर्माले बीमा कम्पनीहरू सहर केन्द्रित र व्यवसाय केन्द्रित मात्र भएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे । उनले बीमा कम्पनीहरूले गाउँघरमा गएर त्यहाँका जनताको जोखिम हेरेर बीमा गर्नुपर्ने बताए ।

त्यसमा ऐन कानुनको सहजीकरणका लागि सम्बन्धित नियमनकारी निकायसँग अर्थ मन्त्रालय सहयोग गर्न तयार रहेको उनको भनाई छ । फरक प्रसङ्गमा मन्त्री शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताए । शेयर बजार मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने भन्दै उनले त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताए ।

लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताए । बीमा समितिको कार्यालय भवन ललितपुर–१० स्थित कुपण्डोलमा निर्माण हुन लागेको हो । दश महिनामा निर्माण कार्य सक्ने गरी आशिस–माउन्ट पुमोरी जेभीले निर्माण जिम्मा पाएको छ । निर्माणको लागत ४१ करोड ९२ लाख रहेको छ ।

प्रतिक्रिया