कोरोनाबाट थप ३ जनाको मृत्यु, १२६ जना आइसीयुमा

admin

काठमाडौँ, मङ्सिर २७ : पछिल्लो २४ घन्टामा थप ३४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्‍टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३४१ जनामा कोभिड संक्रमण पुष्टि गरेको हो।

पछिल्लो २४ घन्टामा १३ हजार २३६ नमूनाको परीक्षण गरिएको थियो। जसमध्ये १० हजार ४१६ नमूनाको पीसीआर र २८ सय २० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरेको थियो। ३१३ जनाको पीसीआर र २८ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।

सोमबार कोरोनाबाट थप ३ जनाको मृ त्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ। मन्त्रालयका अनुसार थप ३७६ जना डिस्चार्ज भएका छन्।

यो सहित कोरोनाबाट निको हुनेको संख्या ८ लाख ७ हजार १५४ पुगेको छ। हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख ८७ हजार ६६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

यस्तै, मुलुकभर हालसम्म १२६ जना आइसीयुमा र ३३ जना भेन्टिलेटरमा उपचारत छन् भने ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया