शीर्ष नेताहरुले देउवालाई समर्थन गर्ने भएपछि अप्ठ्यारोमा शेखर कोइराला

admin

काठमाडौं, २८ मंसिर : शेरबहादुर देउवालाई कांग्रेस सभापतिको पहिलो चरणको चुनावमा तेस्रो, चौथो र पाँचौँ भएका उम्मेदवारले सहयोग गर्ने भएका छन् । संस्थापन इतर समूह तितरबितर भएसँगै शेरबहादुर देउवाको दाबेदारी बलियो बनेको छ ।

प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । यस्तै शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू देउवालाई समर्थन गर्ने प्रकाशमान सिंहको निर्णयको पक्षमा रहेको बताएका हुन् । उनले नेता सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उनको समर्थनमा उभिनु आफ्नो कर्तव्य भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानै पर्दा प्रस्ट्याउँदछु–नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’

यस्तै यसअघि नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने बताइसकेका छन् । सभापतिका प्रत्याशी शेखर कोइरालाबाहेकका उम्मेदवारले देउवालाई सहयोग गर्ने भएका हुन् । यता संस्थापन इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोस्रो चरणको चुनावमा खुलेर नबोल्दा कोइराला अप्ठ्यारोमा परेका छन् ।

यस्तै कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरण चुनावको सामना गर्ने बताएका छन् । पहिलो चरणको चुनावपछि बसेको कोइराला समूहका नेताहरूको बैठकले दोस्रो चरणमा हुने मतदानको सामना गर्ने निर्णय गरेको हो । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई संस्थापन इतर समूहका नेताहरूले समर्थन गर्ने बताए पनि कोइराला समूह छलफलमा बसेको थियो ।

संस्थापन इतर समूहले नै सहयोग नगरेपछि कोइराला अफ्ठ्यारोमा परेका छन् । उनले अन्तर्मनको आवाज सुनेर भोट हाल्न आह्वान पनि गरेका छन् । पौडेललाई कोइरालाको पक्षमा खुल्न उनी पक्षका कार्यकर्ताले दबाब दिएका छन् । तर, पहिलो चरणको चुनावमा कोइरालालाई सहयोग गरेका उनले अहिले विवेक प्रयोग गरेर मत हाल्न आफ्ना पक्षका प्रतिनिधिलाई सुझाव दिएका छन् ।

पहिलो चरणको चुनावमा ८२ मत नपुग्दा देउवाले बहुमत ल्याएका थिएनन् । पहिलो चरणको चुनावमा ४ हजार ६ सय ७९ मत खसेकोमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरेका थिए भने कोइरालाले १ हजार ७ सय २९ मत पाएका थिए । यस्तै, नेता प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए । अब दोस्रो चरणमा देउवा र कोइरालाकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया