काठमाडौं, २८ मंसिर : सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन् । मंगलवार १५औँ सङ्घीय संसद् सेवा दिवसको अवसरमा सङ्घीय संसद् सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले आफूले संसद्को प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसका निम्ति साथ दिन कर्मचारीलाई आग्रह पनि गरे । आफूसँग काम गर्ने स्प्रिट भन्दै सभामुख सापकोटाले कर्मचारीसँग रहेको विज्ञतालाई संयोजन गरेर काम गर्न सके संसद्प्रति जनतालाई आशावादी बनाउन सकिने विश्वास व्यक्त गरे ।
सभामुख सापकोटाले संघीय संसद सचिवालयका कर्मचारीहरुलाई देशभक्तिको भावनाले काम गर्न पनि आग्रह गरे । उनले भने, ‘मलाई यो राष्ट्रले, मलाई इतिहासले र मलाई जनताले, मलाई १७५ जना प्रतिनिधिसभाका सदस्यहरुले वर्तमानमा राज्यका तीनवटा अंगमध्ये एउटा अंगको नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ । त्यो जिम्मेवारीलाई पुरै निष्ठाका साथ, पुरै इमानका साथ पुरा गर्नेछु । त्यो पुरा गर्दै जाँदा मलाइ लाग्छ, हामी सबैको इज्जत, प्रतिष्ठा, गौरव माथि उठ्दै जान्छ ।’
यस्तै उनले थप भने, ‘मेरो पहल र प्रयत्नमा तपाईहरुले साथ दिनुहुनेछ । मसित स्प्रिट छ । तपाइँहरुसित विज्ञता छ । त्यो विज्ञता र स्प्रिट हामीले संयोजन गर्न सक्यौँ भने हामी जनतालाई आशावादी बनाउन सक्छौँ । चारैतिर अहिले निराशा छाइरहेको बेलामा, चारैतिर प्रश्न उठिरहेको बेलामा संघीय संसदबाट हामी एउटा शक्तिशाली सन्देश दिन सक्छौँ । जनतालाई आशावादी बनाउन सक्छौँ । यही दिशातिर अगाडी बढौँ ।’