बाध्य भएर संसद अवरुद्ध गर्नुपरेको हो : खिमलाल भट्टराई

admin

काठमाडौं, २८ मंसिर : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख र सरकारको अर्कमण्यताका कारण संसद् अवरुद्ध गर्नुपरेको जनाएको छ ।

मंगलबार बसेको राष्ट्रियसभाको ११औं अधिवेशन अन्तर्गतको पहिलो बैठकमा एमाले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएको प्रति बिरोध गर्दै एमाले राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले सभामुख र सरकारका अर्कमण्यताका कारण गलत दिशामा देशको राजनीति गइरहेको र बाध्य भएर संसद अवरुद्ध गर्नुपरेको बताए ।

उनले दलीय मान्यता अनुसार सभामुख अघि बढ्न नसकेको तर्क गरे । भट्टराईले गैरसांसद राखेर संसद् चलाउने चेष्टा गरिएको र यो लोकतन्त्रको मूल्यमान्यता अनुरुप नरहेको तर्क गरे । त्यस्तै उनले अहिले मुलुकमा सरकार भएको महसुस हुन नसकेको बताए ।

भट्टराईले धारणा राखेपछि एमालेका राष्ट्रियसभा सदस्यहरुले उठेर विरोध जनाएका थिए । एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेको आरोप लगाएर एमालेले संसद अवरुद्ध गरेको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले बैठक अघि बढाउन आग्रह गर्दा पनि बिरोध कायम रहेपछि कार्यसूची अघि बढाएका थिए । बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन, अध्यादेश, २०७८’ सहित विभिन्न छ अध्यादेश पेश भएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गरिन् ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकातर्फबाट मन्त्री यादवले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पनि पेश गरिन् । त्यस्तै मन्त्री यादवले ‘रेल्वे अध्यादेश, २०७८’ पनि पेश गरिन् । सभाको अर्को बैठक आगामी पुस ५ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया