काठमाडौँ, मङ्सिर २९ : प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका छन् ।
१४औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको दोस्रो चरणको मतदानमा २७ सय ३३ मत प्राप्त गर्दै उनी सभापतिमा दोहोरिएका हुन् । कांग्रेस इतिहासमा कोइराला परिवारभन्दा बाहिरबाट सभापतिमा दोहोरिने देउवा पहिलो नेता हुन् ।
देउवाले कुल खसेको मतको ५९।१२ प्रतिशत मत पाउँदा उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८ सय ५५ अर्थात् ४०.१३ प्रतिशत मत पाए । कुल खसेको ४६ सय २३ मतमध्ये ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
०७२ मा भएको १३औँ महाधिवेशनबाट देउवा पहिलोपटक सभापति निर्वाचित भएका थिए । पार्टीभित्र लामो अन्तर्संघर्ष गर्दै उनी नेतृत्वमा पुगेका थिए ।
०६७ मा काठमाडौंमा भएको १२औँ महाधिवेशनमा सुशील कोइरालासँग ३३५ मतले पराजित भएका देउवा ०५७ मा पोखरामा सम्पन्न नवाँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए ।
०७० माघमा भएको संसदीय दलको नेताको चुनावमा पनि उनी सुशीलसँग पराजित भएका थिए । चर्को अन्तर्संघर्षकै कारण कारबाहीमा परेपछि देउवाले आफ्नै नेतृत्वमा ०५९ असारमा नेपाली कांग्रेस ९प्रजातान्त्रिक० गठन गरेका थिए । ०६४ सम्म उनले त्यसको नेतृत्व गरे । अहिले उनी पाँचौँपटक प्रधानमन्त्री छन् ।
पहिलो चरणमा प्रतिस्पर्धामा उत्रिएका पाँच उम्मेद्वारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवार देउवा र कोइरालाबीच दोस्रो चरणको निर्वाचन भएको थियो ।
कुल चार हजार सात सय ४३ मतदातामध्ये पहिलो चरणमा चार हजार ६ सय ७९ मत खसेका थिए, जसमा देउवाले दुई हजार दुई ५८ अर्थात ४८।२५ प्रतिशत मत पाएका थिए ।
जितका लागि उनलाई ८२ मत अपुग भएको थियो । दोस्रो चरणमा देउवाले नौ सय सात मतान्तरले जित निकालेका छन् ।
-नयाँ पत्रिका