नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा मह जोडी

admin

काठमाडौं, २९ मंसिर : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ‘ब्राण्ड एम्बेस्डर’ मा लोकप्रीय हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन् । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्वय श्रेष्ठ र आचार्य तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई टेलिकमको ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

उनले कम्पनीका विभिन्न सेवा सुविधाका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन मह जोडिको भूमिका सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको र मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमजस्तो संस्थाको ‘ब्राण्ड एम्बेस्डर’ हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको प्रतिक्रिया दिएका छन् ।

सम्झौतापछि उनीहरुले नेपाल टेलिकमका सेवाको प्रचारात्मक कार्य, ब्राण्ड प्रवद्र्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्य गर्नेछन् । हाल एक वर्षका लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया