ज्ञानेन्द्रले उधुम मच्चाउँदा प्रचण्डको साथ, प्रचण्ड र ज्ञानेन्द्रबीच ५ बुँदे सहमति: केपी ओली

admin

काठमाडौं, २९ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जनयुद्धकालीन समयमा साँठगाँठ भएको दावी गरेका छन् । प्रचण्डकै सहयोगमा पूर्वराजा ज्ञानेन्द्रले दलहरूलाई किनारा लगाएर शासन हातमा लिएको पनि ओलीको दावी छ ।

बुधबार नवनियुक्त केन्द्रीय सदस्यहरुलाई सपथपछि सम्बोधन गर्दै उनले भने, ‘मा १९ मा पार्टीहरूको कुनै मतलबै छैन । आफैँले घोषणा गरेर आफ्नै हातमा शासन लिएर ज्ञानेन्द्रले उधुम मच्चाए, यसैक्रममा उनले भने, ज्ञानेन्द्रले उधुम मच्चाउँदा प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर सहमतिका साथ त्यो उपद्रो भएको थियो ।’ उनले प्रचण्ड र ज्ञानेन्द्रबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको समेत ओलीले जिकिर गरे ।

‘२०६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भयो । के सहमति भएको थियो कि ज्ञानेन्द्रले भन्नुपर्यो कि प्रचण्डले भन्नुपर्यो’, ओलीले भने, ‘कसका विरुद्ध सहमति भएको थियो ? त्यस्ता सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए ।’ जनयुद्धका क्रममा लोकतान्त्रिक शक्तिहरु रुकुम रोल्पा जान नसक्दा ज्ञानेन्द्रले सो ठाउँमा कसरी अभिनन्दन कार्यक्रम चलाए भनेर पनि ओलीले प्रश्न गरे । उनले कांग्रेस पनि प्रतिगामीको मतियार भएको आरोप लगाए ।

विभिन्न कालखण्डमा कांग्रेस प्रतिगमीको मतियार बनेको ओलीको आरोप छ । भित्र प्रतिगमनको कुरा हुने गरेको तर भित्रभित्र क्रान्तिकारी कुरा गर्ने काम कांग्रेस र प्रचण्डलगायतका शक्तिबाट भएको पनि ओलीको आरोप छ । यस्तै अध्यक्ष ओलीले नेपालको अस्थिरताका संवाहक प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रहेको आरोप लगाएका छन् । उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अस्थिरता निम्त्याउने प्रमुख शक्ति ‘प्रचण्ड’ र माधवकुमार नेपाल रहेको बताएका हुन् ।

‘राष्ट्र दुई ध्रुवमा विभाजित हुदै गएको छ । सुशासन र समृद्धितर्फ सिंगो देश केन्द्रीत हुनुपथ्र्यो, भएन । किनभने नियन्त्रित अस्थिरता मच्चाउने कोसिस भइरहेका छन्’, ओलीले भने, ‘ती काम गर्ने शक्ति यहाँ छन् । अस्थिरता मात्रै क्रियड गर्ने ती शक्तिहरूमा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी’, ओलीको भनाइ छ । उनले यसमा कुनै भ्रम नराख्न पनि सुझाव दिए । साथै उनले कतिपयले उनीहरुसँग एकताको कुरा गरेपनि त्यो सम्भव नभएको बताए । अझै कतिपय साथीहरुले उनीहरुसँग एकताको कुरा गरिरहेको भन्दै उनीहरुसँग एकता गरेर कहि नपुगिने दावी गरे ।

‘अस्थिरताका संवाहकसँग एकता गरेर कहीँ पुगिन्छ ?’ ओलीको प्रश्न छ । ‘त्यो एकीकरण सम्भव नै छैन । हामीले राम्ररी चिनेका छौ, तार कहाँ जोडिएको छ ? स्विच कहाँ अन अफ हुन्छ । महान जनयुद्ध भनेर युवाहरुलाई उरालियो, युवाहरु होमिए । हतियार कहाँबाट आयो ? त्यतातिर फर्केर हेर्न दिइन ?’, ओलीले जनयुद्ध पनि आफ्नो दुनो सोझ्याउने नीति अनुसार गरिएको बताए । ओलीले जनयुद्ध र महान क्रान्तिका नाममा बाहिरी देशमा तालिम दिएर युवाहरुलाई वर्वाद पारेर केही मान्छे महान नेताको रुपमा उदाएको बताए ।

‘अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय छन् । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबैभन्दा बढी अस्थिरताका संवाहक तत्वहरु यिनीहरु नै हुन्, ’, उनले भने, ‘कुनै भ्रम राख्नु पर्दैन र यस्ता अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहीँ पुगिन्छ ? तिनका कनेक्सन कहाँ छ, त्यो हामीले देखेका छौँ ।’

यस्तै नेकपा एमालेका मनोनित ४४ केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । शपथ लिएमा मेडिकल सञ्चालक दुर्गा प्रसाईं समेत छन् । गत आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको थियो ।

विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ । मनोनित हुने अरुमा पुरुषतर्फ दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र ​विषमलाल अधिकारी रहेका छन् ।

त्यस्तै महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की मनोनित भएका छन् ।​

प्रतिक्रिया