आमचुनावमा पार्टीलाई एक बनाएर लान सक्ने खुबीका कारण सभापतिमा देउवाले जित्नुभयो : डा. महत

admin

काठमाडौं, २९ मंसिर : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आउँदो आमचुनावमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् ।

(आज) बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आउँदो आमचुनावमा पार्टीलाई एक बनाएर लैजान सक्ने खुबीका कारण सभापतिमा देउवाले जितेको बताएका हुन् ।

देउवाले सबै नेतालाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उनले बताए । सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीको रूपमा निर्माण गर्ने उनको भनाइ छ ।

यस्तै देउवालाई बधाई दिन बालुवाटार पुगेका नेपाली कांग्रेसका नेता अब्दुल सतारले प्रधानमन्त्री देउवाले आउँदो चुनावमा पार्टीलाई दुई तिहाइ बहुमत दिलाउनका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरे । नेता सतारले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेसका नेता, कार्यकर्ता काँधमा काँध जोडेर सहयोग गर्न तयार रहेको बताए ।

पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ । नेता, कार्यकर्ताले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् ।

प्रतिक्रिया