माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा केसी निर्वाचित

admin

कर्णाली, २९ मङ्सिर : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेश सदस्यमा निर्वाचित २११ सदस्यमध्येबाट केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

माओवादी केन्द्रको यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’बाट केन्द्रीय सदस्यबीच प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरेको थियो ।

त्यही विधिअनुसार केसी अध्यक्षमा निर्वाचित भएको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष रामदीप आचार्यले जानकारी दिनुभयो ।

पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेकी रुकुमपश्चिम जिल्ला निवासी अध्यक्ष केसी कर्णाली प्रदेशसभा सदस्य हुनुहुन्छ ।

अध्यक्षबाहेक माओवादी केन्द्रको अन्य पदाधिकारी चयनका विषयमा छलफल चलिरहेको जनाइएको छ । अध्यक्ष आचार्यका अनुसार प्रदेश समितिमा केन्द्रीय सदस्य पदेन रहने व्यवस्था गरिएको छ ।

माओवादी केन्द्रका १० जिल्ला क्रमशः रुकुमपश्चिमबाट ३२, सल्यानबाट २९ कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० गरी २११ जना प्रदेश सदस्यमा चयन भएका छन् ।

केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसङ्ख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ ।

प्रतिक्रिया