नेपाली क्रिकेट टिमको कप्तानमा सन्दीप, ४ खेलाडी कारबाहीमा

admin

काठमाडौँ, मङ्सिर २९ : स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ ।

क्यानले नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको हो।

बुधबार बसेको क्यानको बोर्ड बैठकले उक्त निर्णय लिएको हो । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र सोमपाल कामीलाई २०२२ को केन्द्रिय ग्रेडबाट सुरुवाती ६ महिना सहभागी नगराउने निर्णय लिएको छ ।

ज्ञानेन्द्र २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए । उनको कप्तानीमा नेपालले प्रर्दशन अन्तर्राष्ट्रिय क्रिकेटमा औसत रहँदै आएको थियो ।

क्यानको अनुशासन उल्ङ्घन सम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिश गरे बमोजिम खेलाडी आचार संहिता उल्उल्ङ्घन गरेको भन्दै ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको हो ।

सन्दीप नेपालका १० औं कप्तान हुन् । सन्दीपले नेपाली यू१९ टोली हुँदै दुई फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेन र पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर किंग्सको कप्तानी गरि सकेका छन् ।

सन्दीपले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा निरन्तर खेल्दै आएका छन् । सन्दीपले इन्डियन प्रिमियर लिग(आइपिएल) देखि बिग ब्यास लिग सम्म खेलि सकेका छन् ।

ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीले क्यानले ग्रेड सार्वजनिक नगर्दै एक मिडियामा त्यसबारे विरोध जनाएपछि क्यानले दुई पटक स्पष्टिकरण सोधेको थियो ।

ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कार्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टिलाई लिएर मिडियामा आएर बोले । सोमपालले आफू बी मा हुँदा अन्यायपूर्ण रहेको बताए । सी मा परेका कमल पनि सन्तुष्ट थिएनन्, त्योभन्दा बढी उनी अन्य खेलाडीको ग्रेडबारे असन्तुष्ट थिए ।

ज्ञानेन्द्र र दीपेन्द्र ग्रेड ए मा थिए । ग्रेडमा केन्द्रित रहेर खेलाडीले आलोचना गरेका थिए । क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ मा स्पष्टीकरण नै सोध्यो ।

खेलाडीले कात्तिक ३० मा क्यानलाई जवाफ दिए । तर क्यान सन्तुष्ट भएन । ज्ञानेन्द्रसहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ मा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गिकरण बारे स्पष्टीकरण सोधेका थिए ।

त्यसपछि विवाद झन बढ्दै गएको थियो । क्यानले मंसिर ८ मा तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । अन्तिममा क्यानले पदमुक्त गर्ने निर्णय लिएको हो ।

 

प्रतिक्रिया