पूर्वराजा ज्ञानेन्द्रसँग सहमति गरेको भए प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

admin

काठमाडौं, १ पुस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गरेका छन् । प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति नभएको स्पष्ट पार्दै उक्त आरोपको खण्डन गरेका हुन् ।

प्रचण्डले आफू र ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने ओलीको आरोप खण्डन गरी प्रमाणित गर्न चुनौती समेत दिएका छन् । ओलीले (हिजो) बुधबार प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको अभिव्यक्ति दिएका थिए । बुधबार ओलीले एक कार्यक्रममा बोल्दै २०६० साल मंसिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रव मच्चाउनका लागि पाँचबुँदे सहमति भएको’ दाबी गरेका थिए ।

ओलीले भने यो आरोपको ‘फ्याक्ट’ चेक गर्ने जिम्मा आफूले नलिई ज्ञानेन्द्र र प्रचण्डलाई नै छाडेका थिए । (आज) बिहीबार विज्ञप्ति निकालेर प्रचण्डले सहमति गरेको भए प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई चुनौती दिएका छन् ।

प्रचण्डले ओलीलाई उक्त दाबी प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिएका छन् । उनले ओली झुट, बेइमानी र धोकाको अर्को नाम भएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् । साथै उनले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको र लगानीकर्ताको हितमा रहेको दाबी पनि गरेका छन् ।

 

प्रतिक्रिया