वायुसेवा सञ्चालक संघमा क्याप्टेन थापा पुनः चयन

admin

काठमाडौँ, पुस २ : निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ, नेपाल (आयोन) मा क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सङ्घको आज सम्पन्न २१ औँ वार्षिक साधारणसभाबाट थापासहित पादाधिकारी तथा सदस्य सर्वसम्मतिका साथ नेतृत्व चयन गरिएको हो । सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमाल चयन हुनुभएको छ । द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई र तृतीय उपाध्यक्षमा अल्टिच्यूड एयरका निमानुरु शेर्पा चुनिनुभएको छ ।

सङघको महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी चयन हुनुभएको छ ।

यस्तै सदस्यमा फुरु ग्याल्जे शेर्पा (हेली एभरेष्ट), सुवास अमात्य (प्रभु हेलिकप्टर), अनिल मानन्धर (श्री एयरलाइन्स), प्रज्वल थापा (गुण एयरलाइन्स), श्रीहरि कुँइकेल (कैलाश हेलिकप्टर सर्भिसेस) र बालकृष्ण पण्डित (एयर डाइनेष्टि हेलि सर्भिसेस) चयन भएको सङ्घले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष थापाले मुलुकको हवाई सुरक्षालाई थप चुस्त र प्रभावकारी बनाएर नयाँ उचाइमा लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्राधिकरणसँग सहकार्य गरेर वायुसेवाको सुरक्षा सुदृढीकरण गरिने बताउनुभयो ।

अध्यक्ष थापाले विमानस्थलहरुमा चराचुरुङ्गी तथा जनावरको उपस्थितिले हवाई सुरक्षाका चुनौती बढेको बताउनुभयो । सो अवसरमा सङ्घले हवाई क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने पूर्वपर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीसहित विभिन्न व्यक्तित्वलाई कदरपत्रद्वारा सम्मान गरेको थियो ।

प्रतिक्रिया