पोखरामा मनाङले पुलिसलाई हरायो

admin

काठमाडौँ, पुस ३ : मनाङ मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो पाँचौं खेलमा शनिबार नेपाल पुलिस क्लबलाई ३–१ ले हराएको छ । यस जितसँगै मनाङको एएफसी कप छनोट खेल्ने सम्भवना बलियो बनेको छ ।

पोखरा रंगशालामा पुलिसका गोलरक्षक रोशन खड्काले बिर्सनलायक प्रदर्शन गरेको खेलमा अन्जन विष्टले २ गोल गरेपछि मनाङले पुलिसलाई हराएको हो । मनाङको जितमा अर्को गोल निशाल लिम्बुले गरेका थिए । पुलिसका लागि एक मात्र गोल पेनाल्टीमा सुमन लामाले फर्काएका थिए ।

खेलको १० औं मिनेटमा अन्जनको गोलबाट मनाङले अग्रता लिएको थियो । रक्षक दिनेश राजवंशीको लामो पासमा अञ्जनले जारी लिगमा पहिलो गोल गरे ।

पुलिसका गोलकिपर रोशन खड्का पेनाल्टी बक्स बाहिर निस्किएको मौकाको फाइदा उठाउँदै अन्जनले टोलीका गोल गरेका थिए ।

मध्यान्तर हुन १० मिनेट बाँकी रहँदा पुलिसका लागि सुमन लामाले पेनाल्टी गोलमार्फत बराबरी खेल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो । मनाङका रक्षक सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निर कुमार राईमाथि खराब फाउल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काए ।

७३औं मिनेटमा अञ्जनले फ्रि–किकमार्फत दोस्रो गोल गर्दै टोलीलाई पुनःअग्रता दिलाए । पुलिसका रक्षक सन्तोष हेमरूनले १८ यार्ड बक्सको एजमा बल ह्यान्ड गरेसँगै मनाङले फ्रि–किक पाएको थियो ।

८३औं मिनेटमा मनाङ निशान लिम्बुले घरेलु टोलीका लागि तेस्रो गोल गरे । ओलावालेले गरेको प्रहार पुलिसका गोलकिपर रोशनले फर्काएपछि सोही रिबाउन्ड बलमा निशानले भली प्रहार गर्दै गोल गरे ।

अघिल्लो दिन दशरथ रंगशालामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले अलग अलग खेलमा बराबरी खेलेपछि मनाङले त्यसको फाइदा उठाउँदै शीर्षस्थानमा उक्लेको छ ।

सातौं चरणको समाप्तीमा ४ क्लब मनाङ, मच्छिन्द्र, आर्मी र एपिएफ फुटबल क्लबमध्ये अंकतालिकाको माथि रहने टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

छैटौं चरणमा मच्छिन्द्रसँग खेल्नुअघि मनाङ (१३ अंक) ले दुई अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मच्छिन्द्रको ११ र तेस्रो स्थानको आर्मीको ९ अंक छ ।

मनाङले सातौं र आठौं चरणका खेल पनि पोखरा रंगशालामा नै खेल्नेछ । छैटौं चरणको खेलका लागि भने टोली काठमाडौं फर्कनेछ ।

प्रतिक्रिया