काठमाडौं, ४ पुस : (आज) आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा संसद् अवरोध र एमसीसीको विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री देउवाले संसदमा भइरहेको अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो ४ बजे बैठक बोलाएका हुन् ।
बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । नेकपा एमालेले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको दल नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उप-नेता सुवास नेम्वाङले बताएका छन् ।
यसअघि पनि नेकपा एसको सहभागितालाई लिएर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको थियो । एमालेको अवरोधका कारण दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । यस्तै प्रधानमन्त्री देउवालाई मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित गर्न चुनौती देखिएको छ ।
बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्ने तयारी पनि गरेका छन् । सरकारले संसद्को चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ ।
नेकपा एमालेले आफूले सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद् अवरोध गर्दै आएको छ । त्यस्तै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दल एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा छन् ।