ओमिक्रोन भेरियन्ट क्रिसमसका समयमा हुने यात्राले थप फैलने अमेरिकी विशेषज्ञको चेतावनी

admin

एजेन्सी, ५ पुस : अमेरिकाका विशेषज्ञले क्रिसमसका समयमा हुने यात्रा र भीडभाडले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन थप फैलने बताएका छन् ।

कोरोनाविरुद्धको खोपका बाबजुद पनि भेरियन्ट फैलिने जोखिम उच्च रहेको उनीहरुले चेतावनी दिएका छन् । ओमिक्रोन श्वासनलीमा अत्यधिक फस्टाउँछ तर फोक्सोमा पुगेपछि कमजोर हुन्छ ।  कोरोनाविरुद्धको खोप लगाएकाहरुमा पनि संक्रमणको जोखिम रहेको उनीहरुले बताएका बीबीसीले जनाएको छ ।

यस्तै, ओमिक्रोन र कोरोना भाइरसका अन्य प्रजाती कसरी फस्टाउँछन् भन्ने विषयमा गरिएको अनुसन्धानले ओमिक्रोनको असरबारे पत्ता लगाउन सहयोग गर्ने अनुसन्धानकर्ताले बताएका छन् । कोभिड-१९ बारे गरिएका केही अनुसन्धानले यो कुरा बताएको हो ।

यद्यपि, यो अनुसन्धानलाई अन्य शोधले प्रत्यायभूत गर्नुपर्छ र अन्य अनुसन्धाताले प्रमाणितसमेत गर्न बाँकी छ । ‘ओमिक्रोन थप फैलनेमा कुनै आशङ्का छैन’ अमेरिकी विशेषज्ञ डाक्टर एन्टोनी फौसीले भनेका छन् । उनले यो भेरियन्ट विश्वमा नै फैलँदै गएको भन्दै महामारी रोकथामका प्रभावकारी कार्यक्रम ल्याउनु पर्नेमा अमेरिकी सरकारलाई सुझाव समेत दिएका छन् ।

अघिल्लो डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन श्वासनलीको तन्तुमा ७० गुणा तीव्र गतिमा फैलने अनुसन्धानकर्ताले बताएका छन् । यसले व्यक्ति व्यक्तिबीच कोरोनाको संक्रमण व्यापक रुपमा फैलन सहयोग गर्ने अनुसन्धानकर्ताले बताएका छन् । तर फोक्सोको तन्तुमा भने कोरोनाभाइरसको मूल रुपको तुलनामा ओमिक्रोन १० गुणा कम सुस्त गतिमा फैलने गर्छ । यसले व्यक्तिलाई गम्भीर रुपमा बिरामी हुनबाट जोगाउँछ ।

त्यस्तै, हङकङ युनिभर्सिटीका अध्ययन टोलीका प्रमुख डा. मिचेल चान चि वाईले एक विज्ञप्तिमा भनेका छन्, ‘भाइरस फोटोकपी हुँदा मात्रै मानिसमा अत्यधिक कडा खालको संक्रमण देखिने भन्ने होइन, यो त प्रत्येक व्यक्तिको संक्रमणप्रतिको प्रतिरक्षा प्रतिक्रिया हो, जुन कहिलेकाँही निकै घातक इन्फ्लेमेशनमा परिणत हुन पनि सक्छ । ’

‘भाइरस आफैंमा कम रोग जनक भएपनि यसले धेरै मानिसहरुलाई संक्रमित गरेर धेरै गम्भीर रोग र मृत्यु निम्त्याउन सक्छ भनेर पनि बुझ्नुपर्छ,’ चानले थपे । ओमिक्रोनले खोप लगाएका र पहिले नै संक्रमित भइसकेपछि विकास भएको प्रतिरोधी क्षमता पनि छल्न सक्ने देखिएको हुँदा यसको समग्र जोखिम धेरै नै रहेको चाङले बताए ।

ओमिक्रोन भेरियन्ट अहिले विशेषगरी अफ्रिका र युरोपमा फैलिरहेको छ । जोखिम बढे पछि फ्रान्स र जर्मनीले यात्रामा प्रतिबन्ध लगाएका छन् भने नेदरल्यान्ड्सले क्रिसमससम्म लकडाउनलाई कडा पारेको छ ।

प्रतिक्रिया