चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता

admin

काठमाडौं, ५ पुस : मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि (आज) सोमबार चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले सोमबार बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो ।

एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि (भोलि) मंगलबारसम्ममा आइपुग्ने जानकारी दिए ।

उनका अनुसार त्यहाँबाट १२ लाख एक हजार आठ सय ८७ मात्रा खोप आउन लागेको थियो । यस्तै, सोमार नै भारतबाट पनि १८ लाख ७० हजार पाँच सय मात्रा खोप आउन लागेको छ । कोभ्याक्स सुविधाअन्तर्गत कतार एअरवेजबाट दिउँसो २ बजेर ३५ मिनेटमा त्यो खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताए ।

नेपालमा तीन करोड ५४ लाख ६६ हजार नौ सय ८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार एक सय नौ मात्रा खोप लगाइसकिएको छ ।

प्रतिक्रिया