आर्थिक स्तर माथि भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा

admin

काठमाडौं, ५ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई देश र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन् ।

(आज) सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै प्रधानमन्त्री देउवाले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई देश र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका हुन् ।

उनले सरकारको पनि आर्थिक स्तर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने मान्यता रहेको भन्दै देशको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले देशको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन र देशको अर्थतन्त्रलाई तीव्र रूपमा रूपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवम् प्राविधिक जनशक्तिको उत्पादन विश्वविद्यालयले गर्नुपर्नेमा जोड दिए ।

उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभएर व्यवहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा पनि जोड दिए । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले सोमबार २९ हजार सात सय २९ जना विद्यार्थीलाई दीक्षित गरेका छन् ।

प्रतिक्रिया