गफाडी नम्बर वान केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन : माधव नेपाल

admin

काठमाडौं, ५ पुस : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीलाई गफाडीको संज्ञा दिएका छन् ।

(आज) सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बनाउने योजनामा रहेको बताए ।

उनले केपी ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहे पनि त्यसको कुनै अर्थ नरहेको बताएका छन् । ‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन’, अध्यक्ष नेपालले भने, ‘गिजिन बुकमा नाम लेखिदिए हुन्छ । गफाडी नम्बर १, केपी ओली । अरुलाई अपमान, तेजोबोध, र पीडा मात्रै दिने । परपीडक नम्बर १ ।’

उनले केपी ओलीलाई सुध्रन, गल्ती महशुस गर्न र सही बाटोमा आउन सुझाव समेत दिए । अध्यक्ष नेपालले तत्कालिन नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई चिन्नै नसकेको बताएका छन् । उक्त प्रेस संगठनको आयोजनामा ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा अध्यक्ष नेपालले तत्कालिन नेकपाभित्र आएको विवादबारे चर्चा गर्दै प्रचण्ड सोझो भएर ओलीले जे भन्यो त्यही गर्दै गएको बताए ।

‘प्रचण्ड सोझो हुन पुग्नुभयो । कहिल्यै कुरा उठाउनुभएन, अव मेरो पालो भन्नुपर्थ्यो नि । उहाँले केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन’, अध्यक्ष नेपालले नेकपाभित्रको विवाद र केपी ओलीको व्यवहारको व्याख्या गरे । अध्यक्ष नेपालले ओलीले पटक पटक संसद विघटन गरेर र नेकपालाई विभाजन गरेको भन्दै उनी वामपन्थ नभएको टिप्पणी गरे ।

‘केपी ओलीको वामपन्थ होइनन रामपन्थ हुन् । अग्रगमन होइन, प्रतिगमनको नारा लगाउदै यथास्थितिको पक्षमा उनले समाजवाद मन पराउँदैनन् ।’ उनले सत्तारुढ गठबन्धन ५ वटै पार्टी अग्रगमनका पक्षपाती भएको भन्दै प्रतिगमनका हिमायती केपी ओली भएको बताए ।

उनले विदेशीको इशारामा चल्ने एकातिर र अग्रगमनको दिशामा चल्नेहरू अर्कोतिर हिँडिरहेको समेत बताए । नेता नेपालले गठबन्धनले राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनमा संयुक्त रुपले अघि बढ्ने बताए । सवैको चाहाना आम चुनावसम्म पनि मिलेर गठबन्धन अघि बढोस् भन्ने रहेको भन्दै त्यसबारे छलफल भइरहेको अध्यक्ष नेपालको भनाइ छ ।

प्रतिक्रिया