हुम्लाका ५०५ बालबालिकाले मोर्डना खोप लगाए

admin

सिमकोट, ५ पुस : आज हुम्लाका ५०५ बालबालिकाले मोर्डना खोप लगाएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोर्डना खोप लगाउने अभियान सुरु गरेको छ ।

आइतबार मात्रै यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोप वितरण गरेको थियो । सिमकोट गाउँपालिकामा रहेका तीन विद्यालयका विद्यार्थीलाई मात्रै आज पहिलो दिन खोप लगाएको छ ।

सिमकोट गाउँपालिका–७ मा रहेको कैलाश, सदरमुकाम सिमकोटका बालमन्दिर र मानसरोवर माध्यामिक विद्यालयका विद्यार्थीलाई खोप लगाएर अभियान सुरु गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नयन भण्डारीले जानकारी दिनुभयो । बालमन्दिर माध्यामिक विद्यालयका १८३ जना र मानसरोवर माध्यामिक विद्यालयका ३२२ जना विद्यार्थीले खोप लगाएको संयोजक भण्डारीले बताउनुभयो ।

मानसरोवर माध्यामिक विद्यालयका बालबालिकालाई खोप लगाउने काय सम्पन्न भएको र भोलि बाँकी रहेका बालमन्दिर र भीमसेन आधारभूत विद्यालयका साथै बोर्डिङ् तथा निजी विद्यालयका विद्यार्थीलाई मोर्डना खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाले मानसरोवर उच्च माध्यामिक विद्यालयका लागि ४०० डोज, बालन्दिर माध्यामिक विद्यालयका लागि ३५० डोज, कैलाश माध्यामिक विद्यालयका लागि ३५० डोज र रामदेब माध्यामिक विद्यालयका लागि १९० डोज खोपसहित आइतबार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । गाउँपालिकाका खोप केन्द्रतर्फ पनि खोप लिएर स्वास्थ्यकर्मी गइसकेकाले खोप केन्द्रमा पुग्ने बित्तिकै सुरु गरिने बताइएको छ ।

हुम्लामा ६३७ भाइल खोप आएको छ । यसबाट छ हजार ३७० बालबालिकाले मात्र भ्याक्सिन लगाउने पाउनेछन् । खार्पुनाथ गाउँपालिकालाई ७२०, ताँजाकोटलाई ८३० र अदानुली गाउँपालिकालाई एक हजार ८० डोज उपलब्ध गराइएको छ । जिल्लाका ४४ मध्ये ४१ वडाका खोप केन्द्रमा यो अभियान सञ्चालन गरिएको छ ।

मोडर्ना खोप लगाउनुपर्ने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका हुम्लामा नौ हजार ६२१ छन् । हुम्लामा खोप अभियान पुस १४ गतेसम्म सञ्चालन हुने र पहिलो मात्रा खोप लगाएका बालबालिकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने भएका छन् ।

हिमपात र चिसोका कारण यसअघि नै जिल्ला खोप समन्वय समितिको वैठकले नाम्खा गाउँपालिकाका–४, ५ र ६ मा यस पटक लगाउन नसकिने र पछि उपयुक्त समयमा लगाइने निर्णय गरेको छ ।

प्रतिक्रिया