ओमिक्रोन भेरियन्ट रोकथामका लागि बिदा र यात्राका कार्यक्रम रद्द गर्न डब्ल्यूएचओद्वारा आग्रह

admin

एजेन्सी, ६ पुस : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बिदा र यात्राका कार्यक्रम रद्द गर्न आग्रह गरेको छ । क्रिसमस नजिकिँदै गरेका बेला डब्ल्यूएचओले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिरहेको भन्दै छुट्टीका बेला तय भएका योजना रद्द गर्न अनुरोध गरेको हो ।

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएपछि नियन्त्रणका लागि युरोपेली देशले प्रतिबन्धात्मक व्यवस्था लागू गर्ने क्रम बढेको छ । बेलायतमा नयाँ वर्षको पूर्वसन्ध्यामा हुन लागेका कार्यक्रमलाई रोकिएको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस ग्याब्रियससले पर्व मनाउने क्रममा हुने ओहोरदोहोर र भीडभाडले संक्रमण झन् तीव्र हुन सक्ने बताए । उनले जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त हुने समेत बताएका छन् ।

जिन्दगी रहे पर्व अर्को पटक मनाउन पाइने भन्दै ग्याब्रियसले व्यक्ति, समाज र देश सबैले सहयोग गरे मात्रै महामारीबाट जोगिन सकिने उल्लेख गरेका छन् । दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छोटो अवधिमा धेरैमा राष्ट्रमा देखापरेको छ ।

यस भेरियन्टले हाल कोरोनाविरुद्ध लगाइरहेको खोपलाई छल्न सक्ने विज्ञहरूले आशङ्का गरिरहेका छन् । ओमिक्रोन भेरियन्टलाई डब्ल्यूएचओले भेरियन्ट अफ कन्सर्न भनेर घोषणा गरेको छ । डेल्टा भेरियन्ट पनि संक्रामक नै थियो । पछिल्लो समय पुष्टि भएको नयाँ ओमिक्रोन भेरियन्टमा पनि बढी म्युटेसन अर्थात् उत्परिवर्तन भएको देखिएको छ ।

प्रतिक्रिया