काठमाडौं, ६ पुस : काठमाडौं उपत्यकासहित धेरै ठाँउमा चिसो हावा चल्न थालेकाले जाडो बढेसँगै तुसारो पर्न थालेको छ । दिउँसो घाम लागे पनि आंशिक बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
(आज) मंगलबार पारिलो घाम नलाग्ने पनि मौसमविद्ले बताएका छन् । बिहान हुस्सु कुहिरोसँगै तुसारो पर्न थालेको छ भने दिउँसो र बेलुका चिसो हावा चल्न थालेको छ । यसले गर्दा जाडो बढेको छ । यस्तै केही दिनयता न्यूनतम तापक्रममा खासै थपघट नभए पनि चिसो भने बढेको छ ।
काठमाडौंको बिहानको न्यूनतम तापक्रम मंगलबार ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै उपत्यकासहित धेरै ठाउँमा तुसारो पर्न थालेको छ । यस्तै, उत्तर पश्चिमी क्षेत्रबाट आएको हावाका कारण पनि चिसो बढेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् शान्ति कँडेलकाअनुसार उत्तर पश्चिमी क्षेत्रबाट नेपाल आउने हावा हिमाली क्षेत्र हुँदै बहन्छ । हिउँ परेको हिमाली क्षेत्र हुँदै बहने हावा बढी चिसो हुने उनको भनाइ छ ।