काठमाडौं, ६ पुस : गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना अघि बढ्ने बताउँदै यसलाई अगाडि बढाउनु सरकारको दायित्व रहेको बताएका छन् । यस्तै उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए ।
(आज) मंगलबार जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका लागि प्रकृयाहरू अगाडि बढाइएको भन्दै यसलाई अगाडि बढाउनु वर्तमान सरकारको दायित्व भएको बताए ।
उनले भने, ‘एमसीसी पूर्ववर्ति सरकारहरुको पालोमै अगाडी बढेको हो । नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएको हो । नेपाल सरकार र एमसीसी परियोजनाको बीचमा धेरै वर्ष अगाडि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो ।’
यद्यपि सबैको सहमति र सहाकार्यकै आधारमा एमसीसी परियोजनाको प्रक्रिया अगाडी बढाइने उनको भनाइ थियो । उनले भने, ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गर्नेछ, यसबाहेक अरु कुनै उद्देश्य छैन ।’
नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आएका गृहमन्त्री खाँणले एमसीसीको बारेमा जनतामा केही भ्रम रहेको बताए । गृहमन्त्री खाणले एमसीसी परियोजना ऋणमा नभइ निःसर्त अनुदान भएको स्पष्ट पारे ।
मन्त्री खाणले भने, ‘एमसीसीको बारेमा केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसै अन्तर्गत नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको पनि प्रसारण लाइन स्थापनाका लागि र सडक निर्माणका लागि प्रस्ताव गरेको हो र त्यसलाई उहाँहरूले स्वीकार गर्नुभएको हो । एमसीसीको परियोजना ऋणमा होइन, अनुदानमा हो ।’
सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनले बताए । उनले एमसीसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरूबीचमा छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडि बढ्ने बताए ।