काठमाडौं, ६ पुस : केही दिनदेखि स्थगन भएको बार एसोसिएशनको आन्दोलन फेरि भएको छ । सोहीक्रममा नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताएका छन् ।
(आज) मंगलबार बार एसोसिएशनले सर्वोच्च अदालत परिसरमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएशनको भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि सबै राजनीतिक दललाई बारले आग्रह गरेकाले यस सम्बन्धमा उनीहरूले आफ्नो निर्णय गर्नुपर्ने बताए ।
राजनीतिक दलहरू न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मूकदर्शक भएर बस्न नमिल्ने उनको भनाइ छ । भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनका लागि राजनीतिक दलहरूले पहल गर्नुपर्ने उनले बताए ।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले आफू नाङ्गिएको कुरा स्वीकार गरिसकेको दाबी गरे। प्रधानन्यायाधीश नाङ्गिदैमा न्यायपालिका नप्रसने र न्याय प्रशासन चल्न नसक्ने उनले बताए । न्यायपालिकालाई नाङ्गिन नदिनका लागि प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने उनले बताए ।
उनले भने, ‘उहाँ नाङ्गिदैमा न्यायपालिका सप्रिन्छ ? न्यायपालिकाको प्रशासन यो ढङ्गबाट चल्न सक्छ ? के हामी यो चाहन्छौँ ? उहाँ नाङ्गिनुभएको छ भने घरमा गएर नाङ्गिनुस् । न्यायपालिकालाई नाङ्गिन नदिनुस् । तपाईँले राजीनामा गर्नुस् । बर्हिगमन हुनुस् भन्ने कुरा हामीले उहाँलाई अनुरोध गर्दै आएका छौँ ।’
मंगलबार कानुन व्यवसायीहरूले नाराबाजीसहित सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म विरोधको कार्यक्रम चलिरहने बार एसोसिएशनले जनाएको छ ।