काठमाडौं, ७ पुस : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीचप्रतिनिधि सभाबाट चार वटा अध्यादेश स्वीकृत भएका छन् ।
प्रतिनिधि सभाको (आज) बुधबारको बैठकमा प्रस्तुत गरिएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ बहुमतले स्वीकृत भएको हो ।
रेल्वे अध्यादेश २०७८ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवले स्विकृतिका लागि निर्णयार्थ पेस गरेकी हुन् भने अरू तीन वटा अध्यादेश गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका हुन् ।
एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफैँ पार्टी फुटाउने षड्यन्त्रमा लागेका भन्दै संसद बैठकमा अवरोध गर्दै आएको छ । अब अर्को बैठक आउँदो १८ गते दिउँसो १ बजे बस्नेछ ।