ललिता निवास जग्गा प्रकरण : सुवेदी दम्पती पक्राउ, पाँच दिन हिरासतमा राख्न अनुमति

admin

काठमाडौं, ७ पुस : ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कागजात ‘किर्ते’ गरेर ललिता निवासको जग्गा हडपेको आरोपमा रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुवेदी दम्पतीमाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरू ललिता निवास प्रकरणका मुख्य ठेकेदार (बिचौलिया) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ ।

उनीहरूसहित अन्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको पनि महतोले जानकारी दिए ।

यसअघिको सीआईबीको अनुसन्धानले उनीहरूसहित चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो । बालुवाटारको जग्गा किर्ते मुद्दामा लामो समयदेखि अनुसन्धान गरिरहेको ब्यूरोले आरोपीहरुलाई पक्राउ गर्न थालेको छ ।

प्रतिक्रिया