पुनर्निर्माण प्राधिकरणको ६ वर्ष : तीन सय ७७ सम्पदा पुनर्निर्माण सुरु नै भएन

admin

काठमाडौं, ८ पुस : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको थपिएको एक वर्षसहित ६ वर्षे कार्यकाल शुक्रबारदेखि सकिँदै छ । तर, हालसम्म भूकम्पले क्षति पुर्‍याएका तीन सय ७७ सम्पदाको पुनर्निर्माण भने सुरु नै हुन सकेको छैन ।

प्राधिकरणका अनुसार भूकम्पले क्षति गरेका नौ सय २० पुरातात्विक सम्पदामध्ये चार सय ६५ सम्पदाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । एक सय ३१ वटा पुनर्निर्माण भइरहेका छन् ।

भूकम्पबाट क्षति पुगेका सार्वजनिक विद्यालयका ४१ सय कक्षाकोठाको पुनर्निर्माण सुरु हुन सकेको छैन । ४९ हजार ६ सय ८१ सार्वजनिक विद्यालयका कक्षाकोठामा क्षति पुगेको थियो । जसमध्ये ३१ हजार एक सय ९५ कक्षाकोठा पुनर्निर्माण सम्पन्न भएका छन् । १४ हजार तीन सय सात निर्माणाधीन छन् ।

भूकम्पका कारण सात हजार पाँच सय ५३ सार्वजनिक विद्यालय भवनमध्ये ६ हजार ८५ निर्माण सम्पन्न भएका छन् । १३ सय २९ विद्यालय निर्माणाधीन छन् । एक सय ३९ विद्यालयको पुनर्निर्माण सुरु हुन बाँकी छ ।

स्वास्थ्य संस्थाका भवन पुनर्निर्माण र प्रबलीकरण गर्नुपर्ने संख्या ११ सय ९७ छ । तर, हालसम्म ६ सय ९८ वटाको पुनर्निर्माण र प्रबलीकरण भएको छ । ९० वटा निर्माणाधीन र ५३ वटा प्रबलीकरण भइरहेको छ ।

चार सय १५ सरकारी भवन पुनर्निर्माण र प्रबलीकरण हुनुपर्ने भए पनि तीन सय ७३ को पुनर्निर्माण र प्रबलीकरण भएका छन् । ६० वटा भवन निर्माणाधीन छन् । नौवटाको पुनर्निर्माण सुरु नै भएको छैन । भूकम्पका कारण आठ लाख ६६ हजार घरधुरीमा क्षति पुगेको छ ।

जसमध्ये आठ लाख २७ हजारले पहिलो किस्ता सम्झौता गरेका छन् । सात लाख ४१ हजारले दोस्रो किस्ता लिएका छन् ।

तेस्रो किस्ता लिनेको संख्या ६ लाख ९४ हजार छ । ६ लाख ३४ हजार लाभग्राहीले गुनासो दर्ता गराएकोमा सबै गुनासो फस्र्योट भएको प्राधिकरणले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू