हङकङमा स्थापित प्रख्यात मूर्ति किन हटाइयो ?

admin

एजेन्सी, ८ पुस : चीनको बेइजिङ तिआनानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा युनिभर्सिटी अफ हङकङमा स्थापना गरिएको एउटा प्रख्यात मूर्ति हटाइएको छ । अधिकारीहरूले (हिजो) बुधबार त्यो मूर्ति हटाउने निर्णय गरेको युनिभर्सिटी अफ हङकङले जनाएको छ ।

आठ फिट अग्लो तामाको प्रतिमा हटाउनका लागि प्लास्टिकले छोपेर कामदारहरू खटिएका थिए । ‘द पिलर अफ सेम’ भनिने मूर्तिमा सन् १९८९ मा चिनियाँ अधिकारीले ह’त्या गरेका प्रजातन्त्र पक्षधर समर्थकहरूको सम्झनामा शवको थुप्रो देखाइएको छ ।

विश्वविद्यालयले गएको अक्टोबरमा यो मूर्ति हटाउन निर्देशन दिएको थियो । ‘विश्वविद्यालयको सर्वोत्तम हितको लागि पुरानो मूर्तिबारे निर्णय बाहिरी कानुनी सल्लाह र जोखिम मूल्याङ्कनमा आधारित थियो,’ एक विज्ञप्तिमा भनिएको छ।

‘विश्वविद्यालय कमजोर मूर्तिबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा समस्याहरूको बारेमा पनि निकै चिन्तित छ।’ डेनमार्कका मूर्तिकारले बनाएको नरसंहारको प्रतिमा २४ वर्षदेखि राखिएको थियो । विश्वविद्यालयका अधिकारीहरूले मूर्ति स्थापना गरिएको क्षेत्रलाई प्लास्टिकले बारेसँगै बुधबार अबेर उक्त प्रतिमा हटाउन लागिएको पहिलो सङ्केत प्राप्त भएको थियो ।

सुरक्षामा खटिएका कर्मचारीहरूले सञ्चारकर्मीहरूलाई उक्त स्थानसम्म पुग्नमा रोक लगाएका थिए र त्यो दृश्य कैद गर्नमा पनि रोक लगाउने प्रयास गरेका थिए । हटाइएको मूर्ति विश्वविद्यालयले आफ्नो गोदाममा राख्ने जनाएको छ । सन् १९८९ मा बेइजिङको तिआनानमेन स्क्वायरमा चिनियाँ सुरक्षा फौजले सयौँ प्रदर्शनकारीको ह’त्या गरेका थिए ।

प्रतिक्रिया